अमेरिकी फुटबल क्लब इन्टर मायामीका स्टार खेलाडी लियोनल मेस्सी घाइते भएका छन् । आइतबार बिहान लिग कपअन्तर्गत नेकासाविरुद्धको खेलमा उनी खेलको ११औं मिनेटमै मैदानबाट बाहिरिएका हुन् ।
मेस्सीको ह्यामस्ट्रिङमा चोट देखिएको र तत्काल परीक्षणपछि मात्रै यसको गम्भीरता थाहा हुने इन्टर मायामीका मुख्य प्रशिक्षक जेभियर मास्सेरानोले जानकारी दिए ।
प्रशिक्षक मास्सेरानोका अनुसार मेस्सीले ह्यामस्ट्रिङमा असहज महसुस गरेपछि खेल्न नसक्ने अवस्थामा पुगेका थिए ।
“उनी धेरै पीडामा देखिन्थे, चोट गम्भीर हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ,” प्रशिक्षक मास्सेरानोले भने, “तर परीक्षणपछि मात्रै यकिन हुन्छ ।”
केही दिनअघि मेस्सीले विश्राम नपाएको भन्दै उनलाई मेजर लिग सकर (एमएलएस) को अल-स्टार खेलमा नखेलाउने निर्णय गरिएको थियो । सोही निर्णयका कारण मेस्सीलाई एक खेलको प्रतिबन्धसमेत लागेको थियो ।
हालैका दिनमा मेस्सी लगातार खेलिरहेका थिए । विश्रामको अभावका कारण उनलाई चोट लागेको हुनसक्ने अनुमान गरिएको छ ।
इन्टर मायामी र समर्थकहरूका लागि मेस्सीको चोट चिन्ताको विषय बनेको छ । उनको मेडिकल रिपोर्ट सार्वजनिक भएपछि मात्र उनी कति समय मैदान बाहिर रहने भन्ने निश्चित हुने जनाइएको छ ।