प्रतीक प्रकाशन समूह प्रालिको शनिबार सम्पन्न बैठकले वीरगंजका पत्रकार क्रान्ति साहलाई यस वर्षको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतीक दैनिकको कार्यालयमा बसेको बैठकले फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार अन्नपूर्ण पोस्टका पर्सा संवाददाता तथा मधेस खबर अनलाइनका अध्यक्ष समेत रहेका साहलाई दिने निर्णय गरेको हो ।
सम्पादक शत्रुघ्न नेपालका अनुसार पुरस्कार आगामी भदौ १ गते प्रतीक दैनिकको ३९औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ ।
स्व. सुबोध सिंहको निधनपछि सुरु गरिएको यो पुरस्कार सुरुमा फोटो पत्रकारलाई दिइँदै आएको थियो भने पछिल्लो चरणमा पत्रकारिताका विविध विधामा विस्तार गरिएको छ ।
त्यसैगरी, १० हजार रुपैयाँ राशिको ‘स्तम्भकार पुरस्कार’ प्रतीक दैनिकका नियमित स्तम्भकार तथा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई, र १५ हजार रुपैयाँ राशिको ‘संवाददाता पुरस्कार’ प्रतीक दैनिकका ग्रामीण संवाददाता प्रमोद यादवलाई प्रदान गरिने निर्णय पनि गरिएको छ ।
बैठकले यस वर्षदेखि सुरु गरिएको ‘स्व. चिरञ्जीवी कोइराला स्मृति पुरस्कार’ पत्रकार सूर्यनारायण विकलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । उक्त पुरस्कार राजेन्द्रप्रसाद कोइरालाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् ।
समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, व्यवस्थापक सम्पादक विकाश शर्मा, सम्पादक शत्रुघ्न नेपाल, सह–सम्पादक आरके पटेल, संवाददाता राधेश्याम पटेल, प्रमोद यादव, र महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको उपस्थिति रहेको थियो ।