लन्डन | लन्डनको ओभल मैदानमा सम्पन्न पाँचौँ तथा अन्तिम टेस्ट खेलमा भारतले घरेलु टोली इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै पाँच खेलको सिरिज २–२ को बराबरीमा समाप्त गर्न सफल भएको छ ।
यो ऐतिहासिक जितमा भारतका तीव्र गतिका बलर मोहमद सिराज नायक बने। उनले दोस्रो इनिङ्समा ५ विकेट तथा पहिलो इनिङ्समा ४ विकेट लिएर इंग्ल्यान्डको ब्याटिङ लाइनलाई तहस-नहस पारे ।
खेलको अन्तिम दिन इंग्ल्यान्डलाई ३५ रन आवश्यक थियो र ३ विकेट बाँकी थिए । त्यसकारण खेलमा इंग्ल्यान्डलाई जितको प्रमुख दाबेदार मानिएको थियो। तर, सिराजको उत्कृष्ट बलिङले खेलको रुख भारततर्फ फर्कियो ।
सिराजले खेल सुरु हुनासाथ जेमी स्मिथ र जेमी ओभरटनलाई आउट गर्दै दबाब बढाए। अर्का छेउबाट प्रसिद्ध कृष्णले पनि एक विकेट लिएपछि इंग्ल्यान्ड ९ विकेट गुमाएको थियो ।
त्यसपछि काँधमा चोट लागेका क्रिस वोक्स एउटा हातमा पट्टी बाँधेर ब्याटिङ गर्न मैदान उत्रिए। अर्का ब्याट्सम्यान गस एट्किन्सनले छक्का प्रहार गर्दै, वोक्सले चोटको पीडा सहँदै रन जोड्दै खेललाई अन्तिम क्षणसम्म रोमाञ्चक बनाए ।
तर जब इंग्ल्यान्डलाई ७ रन मात्र आवश्यक थियो, सिराजले आफ्नो अन्तिम ओभरमा एट्किन्सनलाई सटिक योर्कर फाल्दै स्टम्प उडाए र खेलको टुंगो लगाए ।
इंग्ल्यान्ड ३७४ रनको लक्ष्य पछ्याउँदै ३६७ रनमा अलआउट भयो ।
भारतले दोस्रो इनिङ्ग्समा ३९६ रन बनाउँदै इंग्ल्यान्डलाई बलियो लक्ष्य दिएको थियो ।
पहिलो इनिङ्ग्समा भारतले २२४ रन, इंग्ल्यान्डले २४७ रन बनाएको थियो ।