अपहरण, शरीरबन्धक र जबरजस्ती करणी जस्तो जघन्य अपराधमा संलग्न रहेको अभियोगमा दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत वैशाख २० गते अपरान्ह ३ बजेतिर पर्साको बरैनिया क्षेत्रकी एक महिलालाई आफ्नै बाख्राको गोठबाट घर फर्कने क्रममा दुई अज्ञात व्यक्तिले बाटोमै घेरा हालेर मुखमा कपडाको बुजो लगाई आँखामा कालो पट्टी बाँधी अपहरण गरेकाे थियाे ।
अपहरित महिलालाई वीरगंजस्थित बसपार्क नजिकको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगेपछि कोठा बन्द गरी पालैपालो जबरजस्ती करणी गरिएको बताइएको छ । त्यसपछि पीडितलाई साउन २३ गते बिहान ८ बजे जिल्ला पर्साको घडिअर्वा पोखरीको गल्लीमा एक्लै रगताम्य अवस्थामा फालिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।
घटनासम्बन्धी किटानी जाहेरीको आधारमा अनुसन्धान थालेको पर्सा प्रहरीले फरार रहेका दुई अभियुक्तलाई साउन २० गते दिउँसो १:१० बजे वीरगंज महानगरपालिका–१५, प्रतिमा चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–२ सिसियारीका ४० वर्षीय नेक महमद र रौतहट स्थायी घर भई हाल वीरगंज–१३ बसोबास गर्दै आएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।
उनीहरू दुबै वीरगंज–१३ मा रहेको ‘नेक मोटरसाइकल वर्कशप’मा कार्यरत हुन् । जसमा नेक महमद सो वर्कशपका सञ्चालक हुन् भने अफताब त्यही वर्कशपमा काम गर्छन् ।
पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति सहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।