नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारीस्वरूप आयोजना गरिने मिनी अक्सनका लागि कुल १५० खेलाडी छानिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नाम दर्ता गराएका ४५८ खेलाडीहरूमध्येबाट छनोट गरी उनीहरूलाई अक्सनका लागि योग्य बनाएको हो । अक्सनका लागि तीन ग्रेड (ए, बी र सी) को वर्गीकरण गरिएको छ ।
- ग्रेड ‘ए’ मा ८ जना,
- ग्रेड ‘बी’ मा ३५ जना
- ग्रेड ‘सी’ मा १०७ जना खेलाडी समावेश छन् ।
आगामी शनिबार (साउन २४ गते) हुने मिनी अक्सनमा टिमहरूले यी खेलाडीहरूलाई छनोट गर्नेछन् ।
ग्रेड ‘ए’ का खेलाडीहरूमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम परेका छन् । यसपटक आदिल अन्सारी र पवन सरार्फले पहिलो संस्करणमा सहभागिता जनाएका थिएनन् । अन्य खेलाडीहरू भने पहिलो संस्करणमा खेलिसकेका र दोस्रो संस्करणका लागि रिलिज गरिएका हुन् । एनपीएलको दोस्रो संस्करणले घरेलु क्रिकेटमा प्रशिक्षण र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
क्यानले अक्सनपछिको खेल तालिका चाँडै सार्वजनिक गर्ने जनाएको छ ।