बाराको जीतपुरमा बहुबिवाहसम्बन्धी प्रस्तावित कानुनी मस्यौदाविरुद्ध महिलाहरूले विरोध प्रदर्शन गरेका छन् ।
बुधवार नारी शक्ति विकास मञ्च जीतपुरको अगुवाइमा महिलाहरूले वीरगन्ज–पथलैया राजमार्गअन्तर्गत जीतपुर सडकखण्डको चोकमा करिब आधा घण्टा सवारी अवरुद्ध गर्दै विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा सहभागी महिलाहरूले “प्रस्तावित मस्यौदा खारेज गर“, “महिला हेप्न पाइँदैन“, “समता, समानता, अधिकार हाम्रो नारा हो“ जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराए ।
नारी शक्ति विकास मञ्च जीतपुरकी अध्यक्ष आशा दहालको नेतृत्वमा प्रदर्शन भएको हो । उनले महिलामाथि अन्याय र विभेद हुने खालका कानुनी प्रावधानहरूलाई अस्वीकार गर्ने चेतावनी दिइन् ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय स्रोतहरूले जनाएका छन् । यस्तै प्रकारको विरोध अहिले देशभर महिला अधिकारकर्मीहरूले गरिरहेका छन् ।
सरकारले बहुविवाहसम्बन्धी फौजदारी संहिताको धारा १७५ मा संशोधन गर्दै, विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा गर्भ रहे वा सन्तान जन्मिए दोस्रो विवाह स्वतः मान्य हुने व्यवस्था गर्ने तयारी गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यसका लागि मस्यौदा तयार गरिसकेको छ । मन्त्रालयका अनुसार, अहिलेको कानुनले दोस्रो विवाहलाई पूर्ण रूपमा गैरकानुनी बनाएकाले कतिपय अवस्थामा महिलाहरू नै पीडित हुने भएकाले कानुन परिमार्जनको प्रस्ताव अघि सारिएको हो ।