काठमाडौं | नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै ऐतिहासिक सफलता हात पारेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ महिला वरीयता सूचीमा नेपालले १३ स्थान उक्लिँदै ८७औं स्थान हासिल गरेको हो ।

यसअघि नेपाली महिला टोली १००औं स्थानमा रहेको थियो भने सन् २०१९ मा ९१औं स्थानसम्म पुगेको रेकर्ड राखेको थियो । तर पछिल्लो सुधारपछि नेपालले ४६.४९ अंक थप्दै नयाँ इतिहास रच्न सफल भएको हो।
एसियाली राष्ट्रहरूको सन्दर्भमा नेपाल हाल १६औं स्थानमा रहेको छ ।
महिला एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसविरुद्ध जित हात पार्दा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यी नतिजाले नेपालको अन्तर्राष्ट्रिय प्रदर्शनमा महत्वपूर्ण प्रभाव पार्दै वरीयता सुधारमा सहयोग पुर्याएको हो ।
फिफा महिला वरीयताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने लामो समय शीर्ष स्थानमा रहेको अमेरिकी टोली दोस्रो स्थानमा झरेको छ ।
यता, पुरुष फुटबल वरीयतामा भने नेपाल १७५औं स्थानमा यथावत् रहेको छ ।