काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रष्ट र विभेदकारी चरित्रप्रति जनतामा व्यापक निराशा र आक्रोश बढेकाले जुनसुकै समयमा जनविद्रोह भड्किन सक्ने चेतावनी दिएका छन् ।
जसपा नेपाल सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारको नस्लीय र भ्रष्ट प्रवृत्तिले जनतालाई अक्रान्त बनाएको र यसको विकल्प खोज्ने परिस्थिती सिर्जना भएको बताए ।
‘वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरी तानाशाही प्रवृत्ति देखाएको छ,’ उनले भने, ‘भ्रष्टाचार, कुशासन र विभेद चरम सिमामा पुगेको छ, त्यसैले कुनै पनि बेला विद्रोह हुनसक्छ ।’
देश संसारकै अविकसित र वैदेशिक ऋण लिने राष्ट्रको सूचीमा पर्ने अवस्थासम्म आइपुगेको उल्लेख गर्दै यादवले मुलुक उल्टो गतितर्फ लागेको आरोप लगाए। लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रियसभामा मधेसको प्रतिनिधित्व मात्र ६ जना रहेको तथ्य प्रस्तुत गरे ।
परिवर्तनका लागि सङ्घर्ष अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष यादवले पार्टीका नेता–कार्यकर्तालाई संगठन सुदृढ गर्न, सामाजिक न्याय र अधिकारका लागि काम गर्न निर्देशन दिए । उनले वडा, टोल र बस्तीस्तरमा सभा–बैठक गरी जनजागरण अभियान चलाउन पनि आग्रह गरे ।
भिडियाे सामाग्री