बाराको सिमरा–जीतपुर क्षेत्रमा सार्वजनिक जग्गा भूमाफियाको निशानामा पर्ने क्रम रोकिएको छैन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित त्रिभुवन राजपथसँग जोडिएको रातो पुल नजिकको सार्वजनिक जग्गामा रातारात अतिक्रमण गर्ने गतिविधि तीव्र बनेको छ । स्थानीयका अनुसार, रातारात व्यक्तिहरू आएर घर, पक्की संरचना निर्माण गर्ने, तारबार हाल्ने जस्ता कार्य भइरहेको छ । योजनाबद्ध रूपमा लाखौँ रुपैयाँको चलखेल गरी केही व्यक्तिहरूले सो जग्गा सर्वसाधारणसँग खरिद–विक्री गर्न थालेका छन् । यस क्रममा केही राजनीतिक दलहरूले आफ्नो ‘भोट बैंक’ बढाउने उद्देश्यले अतिक्रमणलाई मौन समर्थन वा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा बढावा दिइरहेका छन् ।
पहिले २–३ वटा फाटफुट घर मात्र देखिने सो क्षेत्रमा अहिले धमाधम पक्की संरचना निर्माण भई बस्ती बन्दै गएको छ । अतिक्रमणको होडबाजी बढ्दै गएपछि जीतपुरसिमरा–३ वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय बारालाई पत्र लेखी गैरकानुनी अतिक्रमण रोक्न तथा जग्गा संरक्षण गर्न आग्रह गरेको थियाे ।
वडाका कार्यवाहक अध्यक्ष माया बि.क.को हस्ताक्षर रहेको पत्रमा त्रिभुवन राजपथसँग जोडिएको रातो पुलको उत्तर–पश्चिमतर्फ खोला उकास नजिकको सार्वजनिक जग्गामा राति छाप्रो निर्माण गरी अतिक्रमण भइरहेको उल्लेख छ । वडाले भविष्यमा सार्वजनिक पार्क वा अन्य संरचना बनाउनका लागि तत्काल संरक्षणको आवश्यकता औंल्याएको छ । तर, जग्गा संरक्षणको सवालमा न जिल्ला प्रशासन कार्यालय बाराले कुनै प्रभावकारी कदम चालेको छैन्र, न जीतपुरसिमरा उपमहानगरपालिकाले नै राेक्न सकेकाे छ ।
अतिक्रमणको जोखिम अझ बढाउँदै राजनीतिक स्वार्थका कारण भाेलिकाे दिनमा स्थिति जटिल बन्ने स्थानीयको गुनासो छ ।
भिडियाे सामाग्री