वीरगंज । भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार वीरगंजमा भारतीय कला र संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुति गरिएको छ ।
काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा साँझ सम्पन्न कार्यक्रममा भारतको केरला राज्यका नौ जना कलाकारले महाभारतको कथामा आधारित कथाकली नृत्य प्रस्तुत गरे ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउन आपसी सद्भाव र सामञ्जस्य आवश्यक रहेको बताए ।
वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले पनि दुवै देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर प्रयास गर्नुपर्ने धारणा राखे ।
भारतको महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मिणाले नेपाल–भारतबीच सदियौँदेखि कायम सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै, भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । उनले दुवै मुलुकबीचको भाइचारा र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (ICCR) को संयोजनमा सम्पन्न भएको हो ।
भिडियाे सामाग्री