काठमाडौँ | रौतहटको गौर हत्याकाण्डमाथि छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले सार्वजनिक रुपमा प्रतिक्रिया जनाएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश निन्यानन्द पाण्डेको इजलासले सोमबार दिएको परमादेशबारे जसपाले आज (बुधबार) विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।
२०६३ साल चैत ७ गते गौरस्थित राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम (उपेन्द्र यादव नेतृत्वमा) र तत्कालीन नेकपा माओवादीबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनामा कैयौँ घाइते भएका थिए ।
गौर काण्ड हुने समयमा हालका जसपा अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनको नेतृत्व गर्दै तत्कालीन फोरमका केन्द्रीय अध्यक्ष थिए । माओवादीले यादवकै निर्देशनमा आफ्ना कार्यकर्ताको हत्या भएको दाबी गर्दै आएको थियो। मृतक परिवारले पनि यादवविरुद्ध किटानी जाहेरी दिएका थिए । त्रिभुवन साहले २०८० जेठ २१ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले छानबिनको परमादेश गरेको हो ।
जसपाका प्रवक्ता मनिष सुमनद्वारा जारी विज्ञप्तिमा आदेशबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । तर विज्ञप्तिमा ठोस धारणा स्पष्ट पारिएको छैन र ‘लटरपटर खालको अभिव्यक्ति मात्र राखिएको’ भन्ने टिप्पणी गरिएको छ ।

भिडियाे सामाग्री