नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले जनता आवास कार्यक्रमअन्तर्गत सरकारले बनाइदिने भनिएको घर आफूले नलिने स्पष्ट गरेका छन् ।
उनले यस्तो घर विपन्न र साँच्चिकै आवश्यक परेका परिवारलाई दिनुपर्ने बताएका हुन् । बिराटनगरका सञ्चारकर्मीसँग कुराकानी गर्दै राजवंशीले भने, “म आफ्नै परिवार राख्न सक्ने घर बनाउन सक्षम छु । यो घर गरिबलाई दिनुहोस्, म आफैं घर बनाउन सक्छु ।” उनले आमाको निधनका कारण केही समय अघि घर बनाउन नसकेको तर अब निर्माणको योजना रहेको बताए ।
उनले सरकारलाई आग्रह गर्दै भने, “जनता आवास कार्यक्रम विपन्नका लागि ल्याइएको हो । जसलाई साँच्चै आवश्यक छ, त्यहीँलाई दिनुपर्छ । म अहिले घर बनाउन सक्षम छु ।” यद्यपि उनले सरकारले सहानुभूति स्वरूप केही दिन चाहेको खण्डमा लिन तयार रहेको स्पष्ट गरे । उनका अनुसार उनका परिवार विराटनगरमा बस्दै आएका छन् र विराटनगर महानगरपालिका भित्र परिवारको नाममा एक विगाह जग्गा समेत रहेको छ ।
ललितकी आमा शुभकुमारी राजवंशीको निधनपछि श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि जनता आवास कार्यक्रममार्फत राजवंशीलाई घर बनाइदिने घोषणा गरेका थिए । सो घोषणाले तत्काल चर्चा र प्रशंसा पाएको थियो ।
अर्याल मोरङ क्षेत्र नं. ५ (२) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेतामा उम्मेदवार बनेका थिए तर निर्वाचनमा केवल दुई मत पाएका थिए ।
भिडियाे सामाग्री