काठमाडौं | नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं पार्टी सदस्यता छोडेको बताएका छन् ।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति हुँदा भण्डारीले सदस्यता आफैं छोडेको दाबी गरे। उनले भने, “खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो । ”
ओलीका अनुसार भण्डारीले सदस्यता नवीकरणबारे पार्टीसँग छलफल समेत नगरेको रहेछ । “पार्टीले किन खोस्छ सदस्यता? थिएन त्यसैले खोस्नै परेन। सदस्यताका लागि आवेदन पनि दिनुभएन, नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएन,” उनले थपे ।
सदस्यता दर्ता चलानी शाखामा आएर शुल्क तिर्दा मात्र नवीकरण हुने भन्ने धारणा अस्वीकार गर्दै ओलीले भने, “कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण गरेँ भनेर शुल्क तिर्दैमा सदस्यता पाउँछन् भन्ने हुन्छ ? ”
अध्यक्ष ओलीले राष्ट्रपतिको कार्यकाल सकेर फर्किएपछि पार्टीभित्र समस्या उत्पन्न भएको र असन्तुष्ट व्यक्तिहरूको जमात खडा गरिएको बताएका छन् । उनले भने, “पार्टीका सधैंका असन्तुष्ट, पार्टीका पक्षमा कहिल्यै नबोल्ने, र पार्टीका विभिन्न जनसंगठनका चुनाव हारेका मान्छेहरू असन्तुष्ट भएका मान्छेहरूलाई भेला गरेर जमात खडा गरिएको छ । ”
ओलीले यस्तो समस्या पूर्वानुमान नगरेको समेत बताएका छन् । “दुई-दुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिएन । ”
भिडियाे सामाग्री