काठमाडौं | अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तानसँग एक रनले पराजित भएको छ । सेमिफाइनलमा पुग्न आवश्यक खेलमा नेपाल अन्तिम ओभरमा कमजोर हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
डार्विनको मरारा क्रिकेट मैदानमा शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा नेपालले १४५ रनको लक्ष्य पछ्याएको थियो, तर निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४३ रनमा समेटियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाउँदै अर्धशतक पूरा गरे। उनले ४४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले २७, र लोकेश बमले १० रन बनाएका थिए।
पाकिस्तानका लागि बलिङमा मोहमद वासिम र फैसल अकरमले दुई–दुई तथा मोहमद सलमानले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । पाकिस्तानका लागि इरफान खानले ४२, अब्दुल समदले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८, र मेहरान मुमताजले १० रन बनाएका थिए ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट, र कुशल भुर्तेलले एक विकेट हात पारे । चार ओभर बलिङ गरेका सन्दीप लामिछाने २८ रन खर्चेर विकेटविहीन भए।
नेपालले यसअघि सिरिजका पाँच खेलमा तीन हार र दुई जित निकालेको थियो । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२, र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
यस्तै, चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६, र पाँचौँ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको जित निकालेर नेपालले जीत हासिल गरेको थियो ।
भिडियाे सामाग्री