काठमाडौं | राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्तअनुसार सङ्गठन विस्तारको अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि पार्टीले ४१ जिल्लाका प्रभारी र सहप्रभारी (इन्चार्ज–सहइन्चार्ज) तोकेको छ ।
शान्तिनगरस्थित पार्टी कार्यालयमा सात दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव सन्तोष महेताले जानकारी दिएका छन् । अभियान भदौ ८ गतेदेखि असोज २२ गतेसम्म ताप्तलेजुङदेखि रोल्पासम्म ४१ जिल्लामा सञ्चालन हुने बताइएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि अभियान अवधिभर स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्तअनुसार पार्टीको विचार जनस्तरसम्म पुर्याउने कार्य गरिनेछ ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म बसेर समसामयिक राजनीतिक प्रस्ताव पारित गरिएको छ । यस क्रममा राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीबीच साउन २९ गते भएको एकता–उन्मुख कार्यगत सहमति अनुमोदन गर्दै संयुक्त कार्यक्रम अघि बढाउने निर्णय पनि भएको छ । काठमाडौँमा रहेका मधेसी समुदायलाई सङ्गठित गर्न “स्वनिगः मधेस समन्वय समिति” गठन गरिएको छ । समितिको प्रभारीमा कौशल कुमार सिंह, सह–प्रभारीमा कौशलेन्द्र शर्मा, र सदस्यमा राम प्रवेश साह तोकिएका छन् ।
बैठकले राजनीतिक अवस्था गहिरो सङ्कट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको अवस्थामा रहेको ठहर गर्दै संविधान २०७२ ले मधेसी, आदिवासी, दलितलगायत उत्पीडित समुदायलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाएको छ ।
एमाले–कांग्रेस नेतृत्वको वर्तमान सरकारको सत्ता केन्द्रीकरण, भ्रष्टाचार र निरंकुशता बढेको भन्दै बैठकले कडा आलोचना गरेको छ । बैठकले २०८२ सालमै राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्र प्रोत्साहन गर्ने, र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै बहुल–राष्ट्रिय राज्य निर्माणको एजेन्डा अघि बढाउने निर्णय गरेको छ ।
त्यसैगरी, हालैको बाढी–पहिरो, तराई–मधेसमा उत्पन्न सुख्खा र मरुभूमिकरणको समस्याप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत, खानेपानी र मलखाद उपलब्ध गराउन, मुक्कुम्लुङमा भइरहेको केबलकार निर्माण रोक्न र राजविराजमा जारी जग्गा विवाद समाधान गर्न सरकारसँग माग गरिएको छ । बैठकले पार्टीका विभिन्न निर्देशिका र कार्य योजना संशोधनसहित पारित गरेको छ। साथै, सबै केन्द्रीय सदस्य तथा पदाधिकारीलाई भदौ मसान्तसम्म व्यक्तिगत सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।
राष्ट्रिय मुक्ति पार्टीले आफूलाई उत्पीडित समुदायहरूको एकताबाट नयाँ राजनीतिक विकल्पको रूपमा अघि बढाउने दाबी गर्दै हालका चुनौतीबाट मुलुकलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
भिडियाे सामाग्री