हैजा (Cholera) “Vibrio cholerae” नामक जीवाणुबाट सर्ने अत्यधिक संक्रामक रोग हो । दूषित पानी तथा फोहोर खानेकुराबाट यस रोगको संक्रमण फैलिन्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार हैजाको जीवाणु मानिसको शरीरमा प्रवेश गरेपछि १२ घण्टादेखि ५ दिनभित्र लक्षण देखिन सक्छ । समयमा उपचार नपाए बिरामीको मृत्यु हुने जोखिम उच्च हुन्छ ।
हैजा कसरी सर्छ ?
हैजाको संक्रमणको मुख्य स्रोत दूषित पानी हो । हैजाग्रस्त व्यक्तिको दिसाले पानी वा खानपान दूषित भएमा महामारीको समयमा संक्रमण तीव्र गतिमा फैलिन सक्छ ।
जोखिममा को ?
स्वच्छ पानी र सरसफाइको अभाव भएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूमा हैजाको जोखिम बढी हुन्छ ।
हैजाका लक्षण
-
पखाला : चामल धुने पानीजस्तो सेतो पखाला आउँछ, जसले शरीरबाट एक घण्टामै करिब १ लिटर तरल पदार्थ गुमाउँछ ।
-
वान्ता : प्रारम्भिक चरणमै वान्ता हुने, जसले घण्टौंसम्म असर गर्न सक्छ ।
-
जलवियोजन (Dehydration) : शरीरमा तरल पदार्थ र खनिज पदार्थ (सोडियम, क्लोराइड, पोटासियम) को क्षति हुँदा तौल कम हुने, मुख सुक्ने, आँखा गाडिने, रक्तचाप घट्ने, मुटुको धड्कन बढ्ने जस्ता समस्या देखिन्छन् ।
-
अन्य लक्षण : बेचैनी, चिडचिडापन, मांसपेशी दुखाइ र गम्भीर अवस्थामा Hypovolemic shock को कारण केही मिनेटमै मृत्यु हुने सम्भावना ।
कसरी बच्ने ?
-
खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुनु ।
-
उमालिएको वा फिल्टर गरिएको मात्र पानी पिउनु ।
-
राम्ररी पकाएको तातो खाना खानु ।
-
सडकछाप खाद्यपदार्थ (जस्तै पानीपुरी, चटपटे) नखानु ।
-
काँचो फलफूल तथा तरकारी राम्ररी पखाली मात्र सेवन गर्नुपर्छ ।
-
फोहोर र दिसापिसाबको उचित व्यवस्थापन गर्नुपर्छ ।
उपचार र सावधानी
हैजाको घरमै प्रारम्भिक उपचार सम्भव छ । झाडापखालापछि मौखिक पुनर्जलवियोजन (ORS) अत्यन्तै प्रभावकारी हुन्छ ।
एक लिटर पानीमा जीवनजल मिसाएर बिरामीलाई दिन सकिन्छ । पहिलो दिन मध्यम जलवियोजन भएका बिरामीलाई करिब ६ लिटरसम्म जीवनजल आवश्यक पर्न सक्छ ।
तर, गम्भीर पखाला, वान्ता वा गम्भीर जलवियोजन देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्ने विज्ञहरूको सल्लाह छ ।