पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसुनी वर्षासँगै आएको बाढीले कम्तीमा ४ सय ६० जनाको ज्यान लिएको छ । उत्तरी पाकिस्तानमा आइतबार आएको मनसुन बाढी र पहिरोले कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरण (पीडीएमए)ले पुष्टि गरेको छ ।
‘पछिल्लो २४ घण्टामा डेरा इस्माइल खानमा ८ जनाको मृत्यु भएको छ, जबकि अफगानिस्तान सीमानजिकैको दुर्गम दिर जिल्लामा घरको छत भत्किँदा ३ बालबालकको मृत्यु भएको छ,’ उद्धारमा संलग्न एक अधिकारीले जानकारी दिए ।
पीडीएमएका तथ्यांक अनुसार १५ अगस्तयता खैबर पख्तुन्ख्वा प्रान्तमा ४ सय ६ जनाको मृत्यु भइसकेको छ, जसमा बुनर जिल्लामा मात्रै ३ सय ३७ जनाको ज्यान गएको छ । सिन्ध, बलुचिस्तान, गिलगिट–बाल्टिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा पनि ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।
मनसुनको नयाँ चरण सुरु हुनुअघि बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । पञ्जाब प्रान्त उच्च सतर्कतामा राखिएको छ । सतलज नदी किनारमा हजारौं मानिस उद्धार गरिएको र आगामी ९६ घण्टामा पञ्जाबमा जोखिम उच्च रहने चेतावनी जारी गरिएको छ ।
गिलगिट–बाल्टिस्तानको घिजर जिल्लामा हालै हिमताल फुट्दा करिब ३ सय ३० परिवारका ३ हजारभन्दा बढी स्थानीय आन्तरिक रूपमा विस्थापित भएका छन् । मानवअधिकार आयोग पाकिस्तानका जीबी संयोजक इसरारुद्दिन इसरारका अनुसार यो घटना २०१० को अट्टाबाद प्रकोपपछिको सबैभन्दा ठूलो विस्थापन हो ।
पाकिस्तान सरकारले घिजर जिल्लाको कृत्रिम तालबाट हाल कुनै खतरा नरहेको बताएको छ । तालको पानी ४० फिटमा झरेको र यसले नजिकका बस्तीहरूलाई कुनै जोखिम नरहेको क्षेत्रीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
गुपिस उपत्यकाको तालिदास गाउँमा बिहान हिमनदी विस्फोट भएको देखेका तीन गोठालाले तल्लो भेगका बस्तीमा तुरुन्त सूचना दिएपछि कम्तीमा ३ सय जनाको ज्यान बचाइएको छ । जीबीका मुख्यसचिव अब्रार अहमद मिर्जाले तीन गोठालाको सतर्कताका कारण ठूलो जनधनको क्षति टारिएको बताए ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार तथा मानविय मामिला समन्वय कार्यालयका अनुसार मनसुनको यो संकट सेप्टेम्बरको सुरुवातसम्म जारी रहने सम्भावना छ । यसले अझै बाढीपहिरोको जोखिम बढाएको छ ।
पाकिस्तानले विगत केही वर्षदेखि मनसुनका कारण व्यापक विनाश झेल्दै आएको छ । २०२२ मा आएको बाढीमा १ हजार ७ सयभन्दा बढीको मृत्यु भएको र लाखौं स्थानीय विस्थापित भएका थिए भने करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको थियो ।