भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देशभर देवादिदेव महादेवको पूजाआराधना गरी श्रद्धापूर्वक मनाइँदै छ ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति स्वरूप प्राप्त गरेकी थिइन् । पार्वतीले साथीहरूको सहयोगमा निराहार व्रत बसेर महादेव पाएको दिन नै भाद्र शुक्ल तृतीयापरेको हुँदा त्यसै दिनदेखि हरितालिका व्रत बस्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ ।
संस्कृत भाषाका ‘हरित’ (अर्थात् हरण गरिएको) र ‘आलिका’ (अर्थात् साथी) शब्द मिलेर ‘हरितालिका’ बनेको हो ।
वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्वप्रमुख एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार तीज व्रत बस्दा केवल श्रीमान्को दीर्घायुका लागि मात्र नभई अटल सौभाग्य, सन्तान प्राप्ति तथा अविवाहित केटा–केटीले असल वर–वधु प्राप्तिको कामनाका लागि पनि गर्न सकिन्छ । स्वास्थ्य अवस्था अनुसार निराहार, जलाहार वा फलाहार व्रत गर्ने व्यवस्था शास्त्रीय रूपमा खुलाइएको उनको भनाइ छ ।
गौतमका अनुसार, ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् आत्माको रक्षा गर्ने क्षमता अनुसार व्रत गर्नुपर्ने उल्लेख शास्त्रमा पाइन्छ । त्यसैले स्वास्थ्य कमजोर भएकाहरूले फलफूल वा रोटी खाएर पनि व्रत बस्न सक्नेछन् ।
नारीले परिवारको अभिभावकका रूपमा व्रत गर्ने भएकाले पुरुषले पनि व्रत बस्न सक्ने उल्लेख छ । यस अर्थमा तीजलाई विभेदकारी व्रत परम्परा भन्न नमिल्ने धर्मशास्त्रविद्को भनाइ छ ।
दर खाने प्रथा
तीजको अघिल्लो दिन दर खाई व्रत बस्ने तयारी गरिन्छ। शास्त्रीय विधानअनुसार भाद्र शुक्ल द्वितीयाको राती दर खानुपर्छ । माइती वा दाजुभाइहरूले छोरीचेली र दिदीबहिनीलाई बोलाई मीठा परिकार खुवाउने परम्परा छ ।
सांस्कृतिक पक्ष र विकृति
तीज महिलाले वर्षभरि भोगेका दुःख, पीर र मर्कालाई गीतका माध्यमबाट व्यक्त गर्ने पर्वका रूपमा पनि चिनिन्छ । तर पछिल्लो समय तडकभडक, गरगहना र पोशाक प्रदर्शन, एक महिना अघिदेखि नै दर खाने चलनले संस्कृतिमा विकृति ल्याएको भन्नेमा संस्कृतिविद्हरू जोड दिन्छन् । यसले आर्थिक रूपमा कमजोरलाई खिन्न बनाउने भएकाले विकृति रोक्नुपर्ने उनीहरूको भनाइ छ ।
पर्वको समापन
सोमबार दर खाएपछि सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा, र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तीज पर्वको समापन हुने परम्परा छ ।