मकवानपुर प्रहरीले दुई भिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१९ वस्तीपुरबाट प्रहरीले रौतहट, गरुडा नगरपालिका–६ का १९ वर्षीय दुर्गाकुमार साहलाई पक्राउ गरेको हो । वस्तीपुरस्थित सडकमा झोला बोकेर हिँडिरहेका साहलाई शंका लागेपछि खानतलासी गर्दा झोलामा लुकाइएका ७ किलो ६५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी हेटौँडा–१३ ठूलोथलीबाट ४५ वर्षीय राजकुमार मोक्तान पक्राउ परेका छन् । ठुलोथलीको बाटोमा हिँडिरहेका बेला शंका लागी खानतलासी गर्दा उनले बोकेको झोलामा २ हजार १ सय थान ट्रामाडोल ट्याब्लेट फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।