काठमाडौँ । कप्तान रोहित पौडेलको अविजित सतकको प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी हासिल गरेको छ ।
शनिबार सम्पन्न अन्तिम अभ्यास खेलमा नेपालले २४३ रनको लक्ष्य ४४.१ बलमा चार विकेट गुमाएर पूरा गरेको हो । कप्तान रोहितले १०२ बलमा नौ चौकाको सहयोगमा अविजित १०१ रन बनाउँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दिनुभयो । यस्तै, सोमपाल कामीले अविजित ३८ रन बनाए ।
बलिङमा साउथ अस्ट्रेलियाका मेन्जिजले चार विकेट लिएका थिए भने म्यानेन्टीले तीन विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनको योगफल तयार गरेको थियो । उनीतर्फ ह्यारी म्यानेन्टीले ६३, दुवित हुगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन बनाए। बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन–तीन विकेट लिएका थिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक–एक विकेट झारे ।
यसअघि नेपालले साउथ अस्ट्रेलियासँगको दुई टी–२० अभ्यास खेलमा हार खेपेको थियो । पहिलो खेलमा तीन विकेट र दोस्रोमा तीन रनले पराजित भएको नेपालले त्यसअघि स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको दुई टी–२० खेलमा दुवै जित हात पारेको थियो ।
नेपाल आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा ईस्ट–एशिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।
भिडियाे सामाग्री