वीरगन्जमा हैजा र झाडापखालाको प्रकोप फैलिरहेका बेला खानेपानीमन्त्री प्रदीप यादवलाई फोन गरेर प्रश्न गरेकी किरण साहलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति उनको आमा सावित्री साहले आपत्ति जनाएकी छन् ।
सावित्रीले आफू आइतबार मात्रै डिस्चार्ज भए पनि स्वास्थ्य अवस्था सहज नभएको बताइन् । उनका अनुसार, अझै कान्छी छोरी सम्झा वीरगन्जस्थित एक अस्पतालमा उपचाररत छिन् ।
तर, यस्तो संवेदनशील अवस्थामै नेताहरूले “अस्पतालमा कोही भर्ना नभएको” भन्दै अफवाह फैलाएको आरोप सावित्रीले लगाइन् । “अहिले पनि कान्छी छोरी सम्झा अस्पतालमै छिन् । तर नेताहरूले अस्पतालमा कोही भर्ना नरहेको भन्दै अफवाह फैलाएका छन्,” उनले आक्रोश पोखिन् ।
उनका अनुसार मेयर, मन्त्रीको मिडियाले किरण साहको कुनै घरको सदस्य अस्पतालमा भर्ना छैन भनेर लेखेर अफवाह फैलिएको छ ।
हैजाको प्रकोप फैलिएका बेला मन्त्रीलाई प्रश्न गरेको आधारमा किरणलाई प्रहरीले ‘विद्युतीय अपराध, धम्की र अफवाह फैलाएको’ आरोप लगाएर शनिबार पक्राउ गरेको हो । उनी हाल पर्सा प्रहरीको हिरासतमा छिन् ।
सोमबार पर्सा जिल्ला प्रहरी कार्यालयअगाडि पुगेर छोरीको रिहाइको माग गर्दै सावित्रीले सरकारलाई प्रश्न गरिन्– “मन्त्रीले पद र पावरको आडमा मेरी छोरीलाई पक्राउ गर्न लगाएका छन् । पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?”
सावित्री छोरीको रिहाइका लागि हातमा प्लेकार्ड बोकेर प्रहरी कार्यालय पुगेकी थिइन् । उनलाई जसपा नेपालकी केन्द्रीय सदस्य करिमा बेगम, जनमत पार्टीकी नेतृ नजमा खातुनसहित विभिन्न संघ–संगठनका प्रतिनिधिले पनि साथ दिएका थिए ।
सावित्रीले चेतावनी दिँदै भनिन्, “किरणले सबै नागरिकको आवाज मन्त्रीसँग उठाएकी हुन् । यदि तत्काल प्रहरीले रिहा नगरे अझ धेरै महिलाको उपस्थितिमा प्रदर्शन हुन्छ। सरकारले त्यो अवस्थामा नपुर्याओस् ।”