काठमाडौँ | फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत पोर्चुगल र फ्रान्सले जित निकालेका छन् ।
समूह ‘एफ’ मा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले हङ्गेरीलाई ३–२ गोल अन्तरले पराजित गर्यो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआओ कान्सेलोले गोल गरे भने हङ्गेरीका लागि दुवै गोल बर्नाबास वर्गाले गरे । यस जितसँगै दुई खेलबाट ६ अङ्क जोडेको पोर्चुगल समूहको शीर्षस्थानमा उक्लिएको छ। हङ्गेरी भने एक अङ्कसहित तेस्रो स्थानमा छ ।
समूह ‘डी’ मा फ्रान्सले आइसल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्यो। आइसल्यान्डका एन्ड्री गुडजोनसेनले पहिलो गोल गर्दै अग्रता दिलाए पनि फ्रान्सले केलियन एमबाप्पे र ब्राडली बार्कोलाका गोलमार्फत पुनरागमन जित निकालेको हो। लगातार दोस्रो जितसँगै फ्रान्सले ६ अङ्क जोड्दै समूह ‘डी’ को शीर्षस्थानमा स्थान बनाएको छ। आइसल्यान्ड तीन अङ्कसहित पछाडि छ ।
अर्जेन्टिना इक्वेडरसँग पराजित
फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले इक्वेडरसँग १–० गोल अन्तरले हार बेहोरेको छ। इक्वेडरका लागि एनर भ्यालेन्सियाले निर्णायक गोल गरे ।
हार खेपेपनि अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । १८ खेलबाट ३८ अङ्क जोडेको अर्जेन्टिना शीर्षस्थानमा छ भने समान खेलबाट २९ अङ्कसहित इक्वेडर दोस्रो स्थानमा छ ।
दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा बोलिभियाले ब्राजिललाई १–० ले पराजित गर्यो भने कोलम्बियाले भेनेजुएललाई ६–३ गोल अन्तरले हराएको छ ।