काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः कारागार फर्किएका छन् ।
सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै बाहिर निस्किएको भन्दै उनको आलोचना भएको थियो ।
सोमबार सामाजिक सञ्जालमा जारी गरेको भिडियो सन्देशमा लामिछानेले आफ्नो जन्मदिनको अवसर पारेर कारागार फर्किन लागेको बताएका थिए। उनले भने, “पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री हुनुहुन्छ। अब अन्याय नहुने आशा सहित म कारागार जाँदैछु ।”
शनिबार ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीका अनुसार लामिछाने नख्खु कारागार फर्किसकेका छन् । लामिछानेले कारागारबाट निस्कन रिहाइ पत्र प्राप्त गरेको दाबी गरे पनि कारागार प्रशासनले उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तुरुन्त फर्किन निर्देशन दिएको थियो ।