नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई पाँच विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै गलत कामको साक्षी बनेर कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
आइतबार बसेको कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रेस स्वतन्त्रता, कानुनको शासन, संवेदनशील घटनाको निष्पक्ष अनुसन्धान, न्यायपालिकाको स्वतन्त्रता र आर्थिक सुधारमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गरी परिणाम सार्वजनिक गर्न माग गरे। त्यस्तै, प्रधानमन्त्री, मन्त्री र प्रहरीसमेत कानुनको अधीनमा रहनुपर्ने भन्दै राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सचेत गराए ।
थापाले सार्वजनिक भएका भ्रष्टाचार तथा अन्य संवेदनशील प्रकरणको निष्पक्ष अनुसन्धान गर्नुपर्ने र छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिए। न्यायपालिकाको स्वतन्त्रता कायम राख्दै न्यायालयप्रति नागरिकको विश्वास बढाउन पनि उनले आग्रह गरे ।
आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले लगानी विस्तार, निजी क्षेत्रको विश्वास र आर्थिक गतिविधि सुधारलाई सरकारको प्राथमिकता बनाउनुपर्ने बताए। भय र त्रासबाट नभई विश्वासको वातावरण निर्माण गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाए पनि मनमौजी शासन गर्ने छुट नभएको थापाले बताए। कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र गलत कामको विरोध गर्ने स्पष्ट पारे ।
उनले सुशासनका लागि अध्यादेशभन्दा संसद्मा विधेयक ल्याएर सुधारका काम अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।