राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको आवेदन खुला गरेको छ । पार्टीले उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि उम्मेदवारी आवेदन खुला गर्ने निर्णय गरिएको हो ।
पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँट गर्दै उपसमिति गठन गरेको हो ।
बैठकले क्यान्डिडेट क्लबको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने प्रविधितर्फ सुशान्त वैदिकलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, व्यवस्थापनको जिम्मेवारी रहबर अन्सारी र प्रचारप्रसारको जिम्मेवारी मिलन लिम्बूलाई तोकिएको छ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोट प्रक्रिया र संगठनात्मक तयारीलाई तीव्रता दिएको देखिन्छ । आवेदन खुला गरेसँगै पार्टीले स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई छनोट प्रक्रियामा सहभागी गराउने तयारी गरेको छ ।