राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताएका छन् ।
पत्रकारहरूमाथि भएको धरपकडका विषयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले संविधान र लोकतन्त्रमाथि आँच आउन नहुने विषयमा आफू स्पष्ट रहेको बताएका हुन् ।
सञ्चारगृहमै प्रवेश गरेर पत्रकारहरूमाथि धरपकड गरिएको घटनाबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सचिवालय बैठकले स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिए ।
पत्रकारमाथि धरपकड गर्ने कार्यमा संलग्न व्यक्ति जोसुकै भए पनि कारबाही गरिने लामिछानेले प्रतिबद्धता व्यक्त गरे । उनले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।