परवानिपुरस्थित सबस्टेशनमा बुधबार साँझ अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन् ।
नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनियर अमित चौधरीका अनुसार सर्टसर्किटका कारण सबस्टेशनभित्रका पाँचवटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । उनले गण्डकस्थित सबस्टेशनमार्फत वीरगंज प्रसौनीलगायतका क्षेत्रमा वैकल्पिक रुपमा विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको जानकारी दिए ।
सर्टसर्किटसँगै लागेको आगलागीमा तीन जना घाइते भएको प्राधिकरणले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र उपचार भइरहेको पनि प्राधिकरणले स्पष्ट पारेको छ ।
उता, फिडर ध्वस्त भएपछि वीरगंज–सिमरा औद्योगिक क्षेत्रलगायत विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । प्राधिकरणले क्षति मूल्यांकनसँगै मर्मत कार्य सुरु गर्ने तयारी गरेको छ । भने गण्डकस्थित सबस्टेशनमार्फत वीरगंज प्रसौनीलगायतका क्षेत्रमा वैकल्पिक रुपमा विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।