बाँकेमा खसी किन्ने क्रममा भएको विवाद कुटाकुटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ । प्रहरीका अनुसार बिहान बेहनाले किन्न ठिक्क पारेको खसी अर्को समूहले उठाएपछि दुई पक्षबीच विवाद सुरु भएको थियो ।
आपसी ढुंगा प्रहारकै क्रममा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि दिउँसो साढे २ बजे निधन भएको प्रहरी उपरीक्षक (डिएसपी) दीपक पातलीले जानकारी दिए । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार विवाद गर्नेहरू सालो–भेनाको सम्बन्ध रहेका बताइए पनि मृतक बेहना सालो हुन् वा भेना भन्नेबारेमा थप सोधपुछ भइरहेको छ ।