काठमाडौँ । नवनियुक्त चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भए पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नाम सिफारिस भएकी डा. सङ्गीता कौशल मिश्राको शपथ स्थगित भएको छ ।
राष्ट्रपति कार्यालयका सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार सोमबार स्वास्थ्यमन्त्रीको शपथ हुने छैन । प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्राविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि उनको नाम हटाएर चार जनाको मात्र नाम सिफारिस गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयबाट सिफारिस भएका मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा महावीर पुन, उद्योग, वाणिज्य, आपूर्ति तथा भूमिसुधार मन्त्रीका रूपमा पूर्वन्यायाधीश अनिलकुमार सिंह, कृषि मन्त्रीका रूपमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीका रूपमा जगदीश खरेल रहेका छन् ।
१२ औं तहकी अतिरिक्त सचिव डा. मिश्राले यसअघि स्वास्थ्य मन्त्रालयमा वरिष्ठता मिचेर सचिवमा डा. विकास देवकोटा नियुक्त भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनी करिब ६ महिना लामो बिदामा बसेकी थिइन् ।
जेनजी आन्दोलनका कारण तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा दिएपछि डा. मिश्राले गत बिहीबार मन्त्रालयमा पुनः हाजिर गरेकी थिइन् । त्यसपछि आइतबार अतिरिक्त सचिव पदबाट राजीनामा दिएको मन्त्रालयले जनाएको छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी डा. मिश्राले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा प्रमुख, कोशी अस्पताल र प्रसूति अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्य अनुभव हासिल गरेकी छिन् ।