काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी नगर्न पार्टीपंक्तिलाई चेतावनी दिएको छ ।
केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव लालबाबु राउतले ‘पार्टी शुद्धीकरण, सुदृढीकरण र अनुशासन’ सम्बन्धी धारणा सार्वजनिक गरेका हुन् ।
महासचिव राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतमा हाम्रो पार्टीविरुद्ध आन्तरिक र बाह्य दुवैतर्फबाट व्यापक षड्यन्त्र, चलखेल, आक्रमण र विखण्डन भएका छन् । यसको अध्ययन, अनुसन्धान र विश्लेषण गरी भविष्यमा हुन सक्ने यस्ता षड्यन्त्र र दुर्घटनाबाट पार्टीलाई जोगाउन सम्पूर्ण सदस्य सचेत र चनाखो रहनुपर्छ । रोगको निदान समयमा गर्नुपर्छ ।”
पार्टीको नीति, सिद्धान्त, निर्णय र विधान विपरीत कार्य गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने, फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गरी नकारात्मक प्रचार गर्ने र अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।
त्यसैगरी पार्टीविरुद्ध षड्यन्त्र गर्ने, बाह्य शक्तिसँग साँठगाँठ गर्ने, व्यक्तिगत स्वार्थ पूर्ति गर्ने वा पार्टीभित्र अनावश्यक द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउने निर्णय बैठकले गरेको छ । विज्ञप्तिमा असामाजिक चरित्र, प्रवृत्ति वा गतिविधिबाट पार्टीलाई हानी नोक्सानी पुर्याउने प्रयास भएमा कडाइका साथ रोक्ने उल्लेख छ ।
बैठकले पार्टी विधान विपरीत गतिविधि गर्ने वा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । साथै समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग एकता गर्ने र सिद्धान्त नमिले पनि राजनीतिक मुद्दा मिल्ने दलहरूसँग संयुक्त मोर्चा बनाएर सहकार्य गर्ने निर्णय पनि गरेको छ ।