बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगंजमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
शुक्रबार दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय अमलेखगंजअगाडिको चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले बा २ ख ९५६९ नम्बरको मिनि ट्रकबाट २३६ किलो ७५० ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार ट्रकको छतमाथि फल्स बटम बनाई त्यसलाई ट्रिपालले छोपेर लुकाइएको अवस्थामा २८ पोका गाँजा प्लास्टिकमा प्याक गरी राखिएको थियो ।
उक्त मिनि ट्रक मकवानपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा रोकि जाँच गरिएको थियो। चेकजाँच प्रहरी नायब निरीक्षक (सई) धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले गरेको हो ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा मकवानपुर कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा (सानुलाल रुम्बाको छोरा) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति, बरामद मिनि ट्रक र गाँजा हाल इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।