काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै सेवा सुविधा आवश्यक नहुने बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले अहिले कुनै निश्चित योजना तय नगरेको र सबै काम विज्ञहरूको सल्लाहमा अघि बढाउने बताएका हुन् ।
उनले भने, “भगवान शिव भएको भए ‘यो-यो गर्छु’ भन्ने थिएँ। किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएको छ। पहिलो काम मन्त्रालयमा गएर के-के छन् बुझ्ने हो । अपर्झट मन्त्री भइएको छ। सेवा सुविधा मलाई केही पनि चाहिएको छैन। म चाहिँ अब मन्त्रालयमै बस्ने र त्यहीँ ओछ्यान लाउने हो ।”
मन्त्री पुनले आफ्नो प्राथमिकता नवप्रवर्तन र अनुसन्धानमा रहेको बताए। साथै, शिक्षा मन्त्रालयसँग पनि जोडिएको भएकाले यसबारे विज्ञको सल्लाह लिएर मात्रै काम अघि बढाउने उनले बताए ।
उनले थपे, “म आफू जान्ने भएर ‘यसो गर्छु, उसो गर्छु’ भन्ने होइन। विज्ञहरूसँग सल्लाह लिन्छु, राम्रो मान्छेको राम्रो सल्लाह लिएर छिटो कार्यान्वयन गर्नेछु । प्राथमिकता नवप्रवर्तन र अनुसन्धान नै हो। शिक्षा र विज्ञान प्रविधि जोडिएको छ। शिक्षातिर के-के गर्ने भन्ने अहिले बताउने स्थिति छैन ।”