नेपालीहरूको महान् चाड बडादशैंको मुख्य दिन आज विजयादशमीका अवसरमा घर–घरमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी पर्व उल्लासपूर्वक मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा परेको छ । समितिले टीका लगाउने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने परम्परा रहेको जनाएको छ। घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
यस दिन गुरु पुरोहित, हजुरबुबा–हजुरआमा, आमा–बाबा तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी यश, ऐश्वर्य, दीर्घायु र कार्यक्षमतामा वृद्धि होस् भनी आशीर्वाद लिने परम्परा छ। आज नभ्याउनेले भने कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्ने व्यवस्था रहेको छ ।
समितिका सदस्य डा. बासुदेव कोइरालाका अनुसार बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरी त्यसपछि साइतमै टीका लगाउनुपर्ने परम्परा छ। राज्य सञ्चालकहरूले भने अनिवार्य रूपमा उत्तम साइतमै टीका ग्रहण गर्नुपर्ने मान्यता रहेको उनले बताए ।
दशैंमा प्रयोग हुने पहेँलो जमरा समृद्धिको प्रतीकका रूपमा मानिन्छ। कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको व्रत बसेर पूजा गरेसँगै बडादशैं पर्वको औपचारिक समापन हुन्छ ।
नेपालभरका साथै विदेशमा रहेका नेपालीहरूले पनि आपसमा भेला भएर विजयादशमी पर्व धूमधामका साथ मनाइरहेका छन् ।