पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको वर्षाका कारण कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ ।
आइतबार साँझ ६ बजे गरिएको मापनअनुसार कोसी बराजमा प्रति सेकेन्ड पाँच लाख ३० हजार ९५ क्युसेक पानीको बहाव पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
उच्च बहावका कारण कोसी बराजका सबै ५६ ढोका खोलिएको उनको भनाइ छ। खतराको संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको प्रशासनले जनाएको छ । पानीको बहाव बढेपछि कोसी बराज आसपासका क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन र नदी आसपासका जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा नेपाली सुरक्षाकर्मी र भारतको बिहार राज्य सरकारअन्तर्गत जल संसाधन विभागको टोलीले संयुक्त रूपमा कोसी बराजको निरीक्षण गरेको छ ।
टोलीले संरचनाको स्थायित्व, पानीको दबाब र सुरक्षा अवस्थाको अवलोकन गरेको बताइएको छ ।
भिडियाे सामाग्रीहरू