सरकारले पूर्वप्रधानमन्त्री तथा प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार दुवै नेताका लागि मापदण्डभन्दा बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भन्दै उक्त निर्णय गरिएको हो । सोही अनुसार ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने निर्णय गृहमन्त्रीस्तरमै गरिएको स्रोतले जानकारी दिएको छ ।
नेपालमा पूर्वप्रधानमन्त्रीका लागि तोकिएको सुरक्षामापदण्डअनुसार, निजको सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटाइने व्यवस्था छ । तर पछिल्ला वर्षहरूमा सत्ता सन्तुलन र राजनीतिक परिस्थितिअनुसार पूर्व प्रधानमन्त्रीहरूलाई अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिँदै आएको थियो ।
गृहमन्त्रालयका एक अधिकारीका अनुसार, “सुरक्षाको समीक्षा गर्दा दुवै नेताको सुरक्षामा आवश्यकता भन्दा बढी जनशक्ति खटिएको पाइयो, त्यसैले मापदण्ड अनुसार मात्र सुरक्षा रहने निर्णय गरिएको हो ।”
यसबीच, नेकपा (एमाले)का नेताहरूले यो कदमलाई राजनीतिक प्रतिशोधका रूपमा लिएको टिप्पणी गरेका छन् । उनीहरूले हालको सरकारको “राजनीतिक चरित्र स्पष्ट हुँदै गएको” भन्दै सुरक्षा फिर्ता निर्णयको विरोध गरेका छन् ।
त्यस्तै, माओवादी केन्द्रका केही नेताहरूले पनि सुरक्षाकर्मी फिर्ता गर्नु राजनीतिक असहिष्णुताको उदाहरण भएको बताएका छन्। उनीहरूको भनाइमा, “पूर्वप्रधानमन्त्रीहरू राष्ट्रका संवेदनशील व्यक्ति हुन्, उनीहरूको सुरक्षा राज्यको जिम्मेवारी हो ।”
गृहमन्त्रालयका अधिकारीहरूले भने यो निर्णय “नियमित सुरक्षा पुनरावलोकन प्रक्रिया” अन्तर्गत गरिएको स्पष्ट पारेका छन् ।
भिडियाे सामाग्रीहरू