गाँजा खाएर डा. निकोलस भुसाल प्रदर्शन गर्न खाेजेपछि, प्रहरीले पक्राउ गरेर सुधारकेन्द्र पठाएकाे छ ।
भनिन्छ, 'सगरमाथा चढ्नु ठूलो कुरा होइन, त्यहाँ टिकिरहनु ठूलो कुरा हो ।' समाजमा नाम भएकाले टिक्नका लागि अनुशासन र कानुनको पालना अझ ठूलो कुरा हो । डा. निकोलस भुसाल गाँजा खाएर प्रदर्शनमा उत्रेको घटनाले फेरि एकपटक समाजमा नाम र फेम टिकाइरहन अनुशासनकाे पाठ सिकाएको छ ।
लागूऔषध गाँजा सेवन गरेर प्रदर्शन गर्न खोजेपछि डा. निकोलस भुसाललाई प्रहरीले बिहीबार पक्राउ गरी सुधार केन्द्रमा पठाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनले माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउपछि गरिएको मेडिकल परीक्षणमा डा. भुसालले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएको छ ।
एसपी भट्टराईका अनुसार “एक वर्षअघि पनि उनी पक्राउ परेका थिए र त्यतिबेला पनि यही रिपोर्ट आएको थियो,” “यो पटक पनि रिपोर्ट उस्तै आएको छ। अहिले हामीले उनका दाजुको जिम्मामा उनलाई सुधार केन्द्रमा पठाएका छौं ।”
उनीसँगै प्रदर्शनमा संलग्न सञ्जी दाहाल र एसपी साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियाे । प्रहरीले प्रदर्शन रोक्ने क्रममा झडप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सो क्षेत्रमा अतिरिक्त सुरक्षा व्यवस्था गरेको थियो ।
डा. भुसाल सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिहरूका कारण पटक–पटक चर्चामा आउने व्यक्ति हुन् । उनले आफूलाई ‘सिस्टम परिवर्तनको अभियन्ता’ भन्दै विभिन्न मुद्दाहरूमा बोल्दै आएका व्यक्ति हुन् ।
भिडियाे सामाग्रीहरू