काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले उजुरी दिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह लगायतले दिएको उजुरीमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा स्थानीयहरूलाई आउन उक्साउने, आगजनी र तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ । उजुरी काठमाडौँ र ललितपुर प्रहरीमा दर्ता गरिएको छ ।
यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै मृतक परिवारका सदस्यहरू सुदन गुरुङसहित प्रहरी पुगेका थिए। प्रहरीले तत्काल जाहेरी दर्ता नगरेको कारण सोसल मिडियामा ‘एरेस्ट केपी’ र ‘एरेस्ट रमेश लेखक’ भन्दै अभियान चलेको थियो । त्यसपछि प्रहरीले जाहेरी बुझेर अन्दोलनबारे छानबिन गर्न गठित आयोगमा पठाएको थियो ।
उक्त दिन बालेन शाह र सुदन गुरुङविरुद्ध काउन्टर उजुरी एमाले निकट विद्यार्थी संगठनले काठमाडौँ प्रहरी परिसरमा दर्ता गराएका थिए । यसपछि विभिन्न जिल्लामा पनि उनीहरुविरुद्ध उजुरी परेको छ।
यता, केपी ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले प्रहरीमै फिर्ता पठाएको छ ।