काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइँदै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो हस्ताक्षर बुझाउने तयारी गरिएको छ। केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार, कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका हुन् ।
विभिन्न कारणले १९० जना प्रतिनिधि नभएको जानकारी दिँदै उहाँले ५२ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गर्नुभयो ।
७७ जिल्ला र विदेश क्षेत्रका प्रतिनिधिहरूबाट हस्ताक्षर सङ्कलन गरिएको घिमिरेले बताए। कांग्रेसको नियमित महाधिवेशन आगामी मङ्सिरमा गर्नुपर्ने भए पनि समयमै तयारी नहुँदा विशेष महाधिवेशनको माग उठेको हो ।
कांग्रेसको विधानअनुसार कार्यकाल एक वर्षसम्म थप गर्न सकिने प्रावधान छ। विशेष महाधिवेशन बोलाउने वा नियमित महाधिवेशन गर्ने विषयमा बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ ।
यसअघि, सभापति शेरबहादुर देउवाले मङ्गलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नुभएको थियो ।