बाराको आदर्श कोतवाल गाउँपालिकाका दुई जना युवा अभियन्तालाई ‘बार्ता’का नाममा बोलाएर प्रहरीले पक्राउ गरेपछि स्थानीय बासिन्दाले गाउँपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
पक्राउ परेका युवाहरूमा सामाजिक अभियन्ता प्रदीप कुशवाहा र डिके सिंह रहेका छन् । उनीहरूलाई गाउँपालिकाले छलफलका लागि बोलाएको समयमा पक्राउ गरिएको स्थानीयले आरोप लगाएका छन् ।
युवा अभियन्ता पक्राउको विरोधमा बिहानदेखि स्थानीयवासी, अधिकारकर्मी र युवाहरूले गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले गाउँपालिका अध्यक्षविरुद्ध समेत आक्रोश व्यक्त गर्दै तत्काल राजीनामा माग गरेका छन् ।
प्रदर्शनस्थलमा अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीयबीच घटनाबारे छलफल जारी रहेको बताइएको छ ।
स्थानीयले असहमतिको आवाज दबाउने उद्देश्यले युवा अभियन्तालाई नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाएका छन् भने उनीहरूको तत्काल रिहाइको माग समेत गरेका छन् ।