हाम्राे देशकाे राष्ट्रिय जनावर गाई हो ।
संविधानले स्पष्ट रूपमा गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको छ र यसको संरक्षण तथा सम्मान राज्यको दायित्वका रूपमा व्याख्या गरिएको छ । तर पछिल्लो समय वीरगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा गाईको फ्लेभर (beef flavour) उल्लेख गरिएको कुकुर आहार बिक्रीमा राखिएको पाइएको छ । यो घटना केवल लापरवाही नभइ राष्ट्रिय प्रतीकप्रति अनादर, धार्मिक संवेदनशीलताको अवमूल्यन र कानुनी उल्लङ्घनको गम्भीर उदाहरणका रूपमा उजागर गरेको छ ।
स्थानीय उपभोक्ताहरूले भाटभटेनी वीरगञ्ज शाखामा बिक्रीमा राखिएको ‘dog food – beef flavour’ लेखिएको प्याकेज देखेपछि विरोध जनाउँदै सामाजिक सञ्जालमा तस्बिर तथा भिडियोहरू सार्वजनिक गरेका थिए । त्यसपछि उक्त विषयमा हिन्दुवादी संघ–संस्थाहरू र नागरिक अभियन्ताहरूले विभिन्न टिकाटिप्पणी सहितको प्रतिक्रिया जनाउँदै भाटभटेनी सुपरमार्केट र सम्बन्धित आयातकर्ता माथि कानुनी कारवाहीको माग गरेका छन् ।उनीहरूका अनुसार, “गाई नेपालकै राष्ट्रिय जनावर हो, त्यसैले गाईको मासु वा त्यसको स्वाद प्रयोग गरी कुनै पनि वस्तु बिक्रीवितरण गर्नु संविधान र कानुन दुवैको उल्लङ्घन हो ।”
नेपालको संविधान २०७२ को धारा ९ काे (३) अनुसार — “गाईलाई राष्ट्रिय जनावरका रूपमा घोषित गरिएको छ ।” यस प्रावधानले गाईलाई केवल धार्मिक दृष्टिले होइन, राज्यको राष्ट्रिय प्रतीकका रूपमा पनि मान्यता दिएको छ ।
मुलुकी अपराध संहिता २०७४ काे (दफा २८९ र २९०) ले गाई, बाछो वा बैलको हत्या, चोट पुर्याउने वा यसको अंग प्रयोग गर्ने कार्य गरेमा चार वर्षसम्म कैद र जरिवाना वा दुबैको व्यवस्था तोकेको छ । त्यस्तै, गाईको मासु वा त्यसबाट बनेको पदार्थको उत्पादन, बिक्रीवितरण वा प्रयोग गर्नेलाई पनि कानुनले दण्डनीय अपराधको रूपमा लिन्छ । त्यसैका आधारमा, “गाई फ्लेभर भएको वस्तु” नेपालमा बिक्रीमा राख्नु वा आयात गर्नु कानुनको मर्म र भावना दुवैको उल्लङ्घन रहेकाे उपभोक्ताहरूकाे भनाइ हो ।
सामाजिक र धार्मिक पक्ष
गाईलाई हिन्दु धर्ममा माताको रूपमा पूजा गरिन्छ । वैदिक परम्परा अनुसार गाईले दूध, गोबर र गौमूत्रजस्ता पाँच अमृत प्रदान गर्ने भएकाले त्यसलाई पवित्र मानिन्छ । नेपालमा गाईपूजा तिहारको दोस्रो दिन “गाई तिहार”को रूपमा मनाइन्छ । त्यस्तो पवित्र प्रतीकप्रति अनादर हुने गरी गाईको मासु वा फ्लेभर समावेश गरिएको उत्पादन बिक्री गर्नु धार्मिक भावनामा चोट पुर्याउने कार्य भएको धार्मिक अगुवाहरू बताउँछन् ।
हिन्दुवादी संघ–संस्थाहरूको माग
हिन्दुवादी संघ–संस्थाहरूले भाटभटेनी सुपरमार्केटका सञ्चालकहरू र वस्तु आयातकर्ता कम्पनीविरुद्ध कानुनी कारबाही गर्न सरकार र प्रशासनलाई माग गरेका छन् । त्यस्तै, ती संस्थाहरूले अन्य सुपरमार्केट, सप्लायर्स र आयात कम्पनीहरूमा पनि यस्ता वस्तु बिक्रीमा छन् कि छैनन् भन्ने तत्काल छानबिन र नियन्त्रण गर्न आग्रह गरेका छन् । भाटभटेनी जस्तो प्रतिष्ठित खुद्रा प्रतिष्ठानमा यस्ता संवेदनशील वस्तु बिक्रीमा पाइँदा केवल व्यापारिक लापरवाही होइन, राष्ट्रिय गौरव र कानुनी दायित्वप्रतिको बेवास्ता पनि हो ।