काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।
ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न जसपा नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष यादवले विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता–कार्यकर्तालाई सङ्कोच, अप्ठ्यारो वा धक नमानी आफ्नो पुरानै घरमा फर्किन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “जसपा नेपालको ढोका सबैका लागि खुला छ । फर्किने सबैलाई हार्दिक स्वागत छ ।”
बैठकले पनि विगतका दिनमा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गर्ने र फर्किने सबैलाई सम्मानपूर्वक स्वागत गर्ने निर्णय गरेको छ ।
अध्यक्ष यादवले भन्नुभयो, “पार्टी स्थापनाकालदेखि विभिन्न कारणले असन्तुष्ट भई पार्टी छाड्नुभएका सबैलाई जसपा नेपालमा पुनः स्वागत छ । जसपा नेपाल हामी सबैको साझा संगठन हो, त्यसैले जुनसुकै कारणले पार्टी परित्याग गर्नुभएका साथीहरूले फर्किन कुनै दुःख वा अप्ठ्यारो मान्नुपर्दैन ।”
उहाँले पार्टी छाडेका नेता तथा कार्यकर्तालाई सम्पर्कमा आउन पनि अनुरोध गर्दै, “फर्किने सबैलाई उहाँहरूको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीभित्र उचित स्थान र जिम्मेवारी दिइनेछ,” भन्नुभयो ।
मुलुकमा विकसित वर्तमान राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै जसपा नेपालले पार्टीलाई अझ सङ्गठित, समावेशी र बृहत् बनाउने अभियान अघि बढाएको छ । सो अभियानअन्तर्गत पार्टी छाडेकालाई पुनः पुरानै घर फर्काउने कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिने अध्यक्ष यादवले स्पष्ट पार्नुभयो ।