काठमाडौँ । मधेस प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक्लो सांसद रहेकी कंचन विच्छा सोमबार मन्त्री बनेकी छन् । विवादका बीच मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले उनलाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् गठनको क्रममा कंचन विच्छाको नाम पनि समेटेकी हुन्। तर, राप्रपाले यसअघि नै संघ र प्रदेशसभाबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।
सो निर्णयविपरीत राप्रपाका केही सदस्यहरू पदमै कायम रहेका छन् र अहिले विच्छा मन्त्री बनेकी छिन्। यसले पार्टीमा असन्तोष फैलिएको छ ।
यसैबीच, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले यो कदम पार्टी अनुशासनको गम्भीर उल्लङ्घन भएको टिप्पणी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन् ।
लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनी दिँदै भनेका छन्, “निर्देशन पालना नगरेमा विधान बमोजिम कारवाही गरिनेछ ।”
