काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठित सरकारविरुद्ध ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित एमाले बाहेकका दलहरूले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
उक्त रिट निवेदनको पेसी बुधबारका लागि तोकिएको छ ।
रिट दर्ता गर्न सर्वोच्च पुगेका नेताहरूमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जयलुन राइनसहितका नेता सहभागी थिए ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनुपर्ने भन्दै कांग्रेससहित सात राजनीतिक दल अदालत पुगेका हुन् ।
यसअघि लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । कांग्रेससहितका सात दलहरूले सो कदमलाई असंवैधानिक भन्दै कानुनी लडाइँ थालेका हुन् ।