निर्वाचन आयोगले दुई लाखभन्दा बढी नयाँ मतदाता नामावलीमा दर्ता भएको जनाएको छ ।
आयोगका अनुसार गत असोज १० गतेदेखि मंगलबारसम्म कुल २ लाख ९ हजार ५५२ जनाले नाम दर्ता गराएका छन् । मंगलबार मात्रै २३ हजार ६ सय ३८ जनाले नाम दर्ता गराएका छन्। तीमध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य रहेका छन् ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अत्यधिक भीड भएपछि सेवा प्रवाह सहज बनाउन दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा अब दुई सिफ्टमा सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार ती जिल्लाहरूमा अब दैनिक ६–६ घण्टाका दुई सिफ्ट गरी १२ घण्टा सेवा दिइनेछ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका नाम दर्ता स्थलमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना दर्ता कर्मचारी खटाइएको आयोगले जनाएको छ ।
अन्य जिल्लाहरूमा भने सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगको भनाइ छ ।