जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न निर्वाचनको तयारी र सरकारविरुद्धको संघर्ष कार्यक्रमलाई एकसाथ अघि बढाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जारी गरेकाे जानकारीअनुसार पार्टीले चरणबद्ध संघर्षका कार्यक्रमसहित चुनाव केन्द्रित तयारीलाई सँगसँगै लैजाने जनाएकाे छ । बस्नेतका अनुसार जसपा नेपालले मंसिर १० गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछ ।
त्यस्तै मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम र कोणसभा आयोजना गर्ने निर्णय भएको छ । पार्टीले आफ्नो माग सार्वजनिक रूपमा दबाब दिन मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिनेछ भने मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिने कार्यक्रम तय गरेको छ ।
साथै जसपाले प्रदेशस्तरीय जनप्रदर्शन र विरोध सभाको तालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार:
- पुस १२ – विराटनगर
- पुस १४ – जनकपुर
- पुस १५ – वीरगन्ज
- पुस १७ – नेपालगन्ज र भैरहवा
जसपाले विगतदेखि उठाउँदै आएका माग र मुद्दाहरू सम्बोधन गर्न सरकार निरुत्साहित र असंवेदनशील देखिएको आरोप लगाउँदै सडक संघर्षमा जान बाध्य भएको स्पष्ट पारेको छ ।