मिथिलाञ्चलको सांस्कृतिक, धार्मिक र ऐतिहासिक परम्परासँग सम्बन्धित राम–जानकी विवाह पञ्चमी महोत्सवलाई शान्त, सुरक्षित र मर्यादित रूपले सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले विशेष सूचना जारी गरेको छ ।
प्रशासनका अनुसार परिक्रमा क्षेत्र तथा परिक्रमा सडकको दायाँ–बायाँ क्षेत्रमा मदिरा बिक्री–वितरण, पशु–पन्छी काट्न, माछा–मासु बिक्री तथा अन्य नसालु पदार्थ सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध मंसिर ७ गते राति १२:०० बजेदेखि मंसिर ९ गते राति १२:०० बजेसम्म लागू रहनेछ । सरोकारवालासँगको समन्वय बैठक र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यो कदम चालिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धको उल्लंघन हुने हो भने प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारण, व्यवसायी तथा श्रद्धालुहरूलाई नियमको पालना गर्न आग्रह गरेको छ ।
विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित, मर्यादित र भक्तिमय वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यो निर्णय लिइएको प्रशासनले स्पष्ट पारेको छ ।