काठमाडौँ | क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपिएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टाबाजी गर्ने आठ जना भारतीय नागरिक काठमाडौँबाट पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, मङ्सिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एनपिएल क्रिकेट प्रतियोगितामा सहभागी भई “बेटाकुलर डट लाइभ” नामक बेटिङ साइटमार्फत खेलको हार–जितको आधारमा रकम लगानी गरी सट्टाबाजी गर्ने आठ जनालाई काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा भारतको आन्द्र प्रदेश, प्रकाशम जिल्ला, पामुर गाउँ स्थायी ठेगाना भएका राजा यदुला (३१ वर्ष), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्मिसेट्टी (१९) र सेख चन्द बसल (२८) रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथमा मोबाइल १५ थान फेला परेको छ ।
उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।