जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् ।
जसपा नेपाल जिल्ला कार्य समिति रौतहटले दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको पार्टी प्रवेश तथा भेलामा बोल्दै अध्यक्ष यादवले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन समयमै हुनेबारे नै शंका पैदा हुने अवस्था सरकारकै अक्षम तयारीका कारण बनेको बताए ।
“निर्वाचनमा मतदाता निर्धक्क हुने वातावरण छैन”
यादवका अनुसार सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरे पनि आम मतदाताले निर्धक्क भएर मतदान स्थल पुगेर मत हाल्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न सकेको छैन । उनले भने, “नेपालको इतिहासमै पहिलोपटक सरकारले प्रहरीको मनोबल कमजोर पार्ने काम ग¥यो। निर्वाचनमा सुरक्षा दिने प्रमुख अंग प्रहरी नै हो, तर प्रहरीको मनोबल गिराइयो भने निर्वाचनको सुरक्षा कसरी सुनिश्चित हुन्छ ?”
यादवले सेना परिचालन गरेर चुनाव गराउने प्रधानमन्त्रीको अभिव्यक्तिलाई अलोकतान्त्रिक भन्दै आलोचना गरे। उनले जोड दिए, “लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन। विश्वका कुनै पनि लोकतान्त्रिक राष्ट्रमा यस्तो प्रचलन छैन ।”
कांग्रेस–कम्युनिस्ट नेतृत्वमाथि कठोर प्रहार
यादवले ३५ वर्षदेखि कांग्रेस र कम्युनिस्ट पार्टीले देशलाई बन्धक बनाएर लुटतन्त्र र भ्रष्टाचार मात्र गरेको आरोप लगाए । उनले भने, “बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष बितिसक्दा पनि देशको अनुहार फेरिने मौका एकपटक पनि आएन । कांग्रेस–कम्युनिस्टकै चरम भ्रष्टाचार, लुटतन्त्र र गैरजिम्मेवारीका कारण नै जेनजी आन्दोलनको आवश्यकता पर्यो ।”
उनले भूटान जस्तो गरिब देश ३५ वर्षमै विकसित बन्न सफल हुँदा नेपाल भने यिनै दलको कारण झन् गरीब र कमजोर बन्दै गएको छ ।
“कांग्रेस–कम्युनिस्ट पराजित गरिनुपर्छ”
आगामी प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक मोडका रुपमा व्याख्या गर्दै यादवले कांग्रेस–कम्युनिस्ट गठबन्धनलाई परास्त गर्न जनसमर्थन एकताबद्ध गर्न आग्रह गरे । जसपालाई वैकल्पिक राजनीतिक शक्ति बनाउँदै देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण गर्ने क्षमता आफूहरूमा रहेको दाबी पनि उनले गरे ।
कार्यक्रममा रौतहटसहित विभिन्न स्थानीय तहबाट ५ सयभन्दा बढी नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेकाे बताइएकाे छ । जसपा नेपाल रौतहटको संगठनात्मक विस्तार तीव्र गतिमा भइरहेको दाबी पार्टीले गरेको छ ।
कार्यक्रम जसपा रौतहटका अध्यक्ष राजीव रंजन (राजू यादव) को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी, केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्व मन्त्री शेख फूलबाबू, केन्द्रीय नेता किशोरी यादव, राष्ट्रियसभा सदस्य पूजा चौधरी, प्रदेश सांसद शोभा देवी, महिला नेतृ किरण ठाकुर, युवा क्रान्तिकारी नेता राजकुमार दासलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।