जिल्ला प्रहरी कार्यालय पर्साले २०८२ साल कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको एक महिनाको कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक प्रतिवेदनले लागूऔषध नियन्त्रणदेखि भन्सार छली, काठ तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा समुदाय–प्रहरी सहकार्य लगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको देखाएको छ ।
फरार प्रतिवादी १ सय ८४ जना पक्राउ
विभिन्न मुद्दामा फरार रहेका १ सय ८४ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूले तिर्नुपर्ने ६ लाख २ हजार ३१९ रुपैयाँ जरिवाना गरिएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय पनि कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ। फरार प्रतिवादी पक्राउलाई प्रहरीले निरन्तर अभियानका रूपमा अघि बढाएको छ।
भन्सार छली तथा चोरी पैठारीमा कडाइ
भन्सार छली तथा अवैध पैठारी रोकथामका क्रममा खाद्यान्न तथा लत्ताकपडासहित ३ करोड ७५ लाख ५० हजार ५ सय ५६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको छ ।
भन्सार महसुल चोरी गरी बजारमा निकासी हुने गतिविधि रोक्न पर्सा प्रहरीले विशेष निगरानी गरिरहेकाे जनाएकाे छ । यसैगरी लागूऔषध नियन्त्रणमा प्रहरीले एक महिनाको अवधिमा २७ किलो ४ सय ८० ग्राम लागूऔषध गाँजा बरामद गरिँदा चार जनालाइ पक्राउ गरेकाे छ । लागूऔषध ओसारपसार नियन्त्रणका लागि पर्सा प्रहरीले सशक्त निगरानी बढाएको छ। यसैगरी अवैध मदिरा नष्टका लागी प्रहरीले ५ सय लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ । त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन रोकथामका क्रममा पाँच वटा बालुवा लोड गरिएका ट्र्याक्टर नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
अवैध रूपमा काटिएको सालकाे काठ ६१.५ क्युबिक फिट काठ बरामद गरेको जनाएकाे छ। बरामद काठको मूल्य दुई लाख ६६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । वन अपराध नियन्त्रणका लागि समेत अभियान सञ्चालन गरिरहेकाे पर्सा प्रहरीले जनाएकाे छ ।
हराएका महिला तथा बालबालिकाको उद्धार
एक महिनाको अवधिमा हराएका नौ जना जसमा दुई महिला र सात बालिकालाइ फेला पारेर अभिभावकको जिम्मामा बुझाएको छ । साथै, दुई जना बालिका उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रहरी कार्यक्रमबाट १० हजारभन्दा बढी लाभान्वित
पर्सा प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक महिनामा १ सय ३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाे जनाैकाे छ ।
ती कार्यक्रममा १० हजार २ सय ३० जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाइएको छ । सामाजिक अपराध नियन्त्रणमा समुदायको सहभागिता बढाउन यी कार्यक्रम प्रभावकारी रहेको प्रहरीको मूल्यांकन रहेकाे छ ।