काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेश सरकारमा मन्त्रीका रूपमा सहभागी भएकी सांसद कञ्चन विच्छालाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
आज धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको नीति, निर्देशन तथा अनुशासन विपरीत नेकपा एमाले नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी भएको भन्दै विच्छालाई निलम्बनको कारबाही गरेको हो ।
यसअघि राप्रपा अनुशासन समितिले पनि विच्छामाथि कारबाही गर्न सिफारिस गरेको थियो । कात्तिक २४ गते विच्छा मधेस सरकारमा मन्त्री बनेपछि सोही दिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई सरकारबाट फिर्ता आउन आग्रह गरेका थिए । तर, उनले सो निर्देशन नमानेपछि राप्रपाले अन्ततः कारबाही अघि बढाएको हो ।